
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले यातायातका सबै प्रकारका सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ। जबरजस्ती इम्बोस्ड प्लेट जडान गराउन खोजिए आन्दोलनको चेतावनी पनि दिएको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै पूर्वाधार र समुचित तयारीबिना विदेशी प्रविधि भित्र्याएर व्यवसायी र सर्वसाधारणमाथि आर्थिक भार थोपर्न खोजिएको भन्दै आपत्ति जनाएको हो। साथै, यसले नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा रहने भन्दै राष्ट्रिय सुरक्षामै खतरा हुने दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सरकार र प्रत्यक्ष सरोकारवाला पक्षहरूबीच संवाद र छलफलबिना देखिएका अव्यवहारिक पक्षको समाधान नगरी, सार्वजनिक, निजी, ढुवानी तथा पर्यटन क्षेत्रका सम्पूर्ण सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सबैमा अनुरोध गर्दछौं।”
महासंघले जबरजस्ती इम्बोस्ड प्लेट जडान गराउन खोजिए त्यसले उत्पन्न हुने परिस्थितिप्रति यातायात मन्त्रालय तथा त्यसअन्तर्गतका निकायहरू स्वयं जिम्मेवार रहने चेतावनी दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने जनाएको थियो।