काठमाडौं, भदौ १० :

अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले नेपालमा पत्रकारितामाथि खतरा बढ्दै गएको जनाएको छ। मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा पत्रकारहरू कानुनी र भौतिक दुवै खाले आक्रमणको सिकार भएको उल्लेख छ।

सीपीजेकी एसिया कार्यक्रम निर्देशक बेह् लि यीले अदालत र प्रहरीले समाचारकै कारण पत्रकारलाई लक्षित गरिरहेको बताइन्। उनले नेपालमा प्रेस स्वतन्त्रता ‘गम्भीर खतरा’ मा परेको चिन्ता व्यक्त गरिन्।

प्रतिवेदनमा पत्रकार दिलभूषण पाठक, बिजमाण्डु, नेपालखबर, दियोपोस्ट लगायत सञ्चारमाध्यमहरूलाई कानुनी तथा नीतिगत धरपकडको उदाहरणस्वरूप उल्लेख गरिएको छ। पाठकविरुद्ध युट्युबमा देउवा परिवारसम्बन्धी सामग्री प्रकाशनपछि अदालतमा मुद्दा दायर भएको थियो।

त्यस्तै प्रेस काउन्सिलले दियोपोस्टलाई कालोसूचीमा राखेको, धितोपत्र बोर्ड अध्यक्षसम्बन्धी समाचारपछि अदालतले सामग्री हटाउन आदेश दिएको तर पछि उल्टाएको उल्लेख छ।

हिमालखबर, दृष्टि न्युजका पत्रकारहरूमाथि पनि अदालतको अवहेलना र समाचारको औचित्य प्रमाणित गर्न निर्देशन दिइएको छ। पत्रकारहरू प्रहरीद्वारा गिरफ्तार, कुटपिट र धम्कीमा परेको घटनाहरू समेत प्रतिवेदनमा समेटिएको छ।

तीनकुने, सुर्खेत, धनुषा, जलेश्वर लगायत स्थानमा पत्रकारमाथि भएको दमनको विवरणसहित सीपीजेले प्रेस स्वतन्त्रताको सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।