काठमाडौं, भदौ १० :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) विना नेपालमा माउन्टेरिङको सम्भावना नहुने बताएका छन् ।

उनले अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै भने, ‘एनएमए नहुने हो भने नेपालमा माउन्टेरिङ सम्भावना छैन । दिगो रूपमा माउन्टेरिङका रूपमा काम गर्न तपाईंहरूको रचनात्मक सहयोग चाहिन्छ ।’

मन्त्री पाण्डेले ‘एनएमएमा एकपटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको’ भन्दै अधुरा परियोजना पूरा गर्न र पर्वतारोहणसँग सम्बन्धित क्षेत्रमा अझ प्रभावकारी काम गर्न आग्रह गरे । उनले पोखरामा रहेको पर्वतारोहण संग्रहालयलाई अत्याधुनिक र विदेशी पर्यटकसमेतको चासोको केन्द्र भएको उल्लेख गर्दै यसको थप उन्नयनमा जोड दिए ।

नेपालका हिमालहरूमा आरोहणलाई सहज बनाउन सरकारले पछिल्लोपटक ९७ वटा हिमालमा दुई वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको पनि मन्त्री पाण्डेले जानकारी दिए । साथै निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प-१ सम्म वैकल्पिक बाटो बनाउन छलफल भइरहेको समेत मन्त्री पाण्डेले बताए ।

‘पर्वतारोहण नेपालकै ठुलो सम्भावना भएको क्षेत्र हो । जोखिम न्यूनीकरण गर्दै यसलाई दिगो रूपमा अघि बढाउन संघको रचनात्मक सहकार्य आवश्यक छ,’ उनको भनाइ छ । उनले पर्यटन नीति र ऐनमार्फत धेरै सुधार हुने विश्वास व्यक्त गर्दै संघलाई सिर्जनात्मक र प्रभावकारी नेतृत्व दिन शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाले नयाँ कार्यसमिति पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता जनाए । उनले हिमाल आरोहणका लागि थप प्रशिक्षण आवश्यक रहेकामा जोड दिँदै, दैनिक विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा दावा टासी शेर्पाद्वारा लिखित ‘शेर्पा’ नामक पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तकमा सन् २०१४ मा १६ जना पर्वतारोहणकर्ताले ज्यान गुमाएको घटनाको उल्लेख गरिएको छ । जसमा लेखक स्वयं मात्र बाँच्न सफल भएका थिए ।