काठमाडौं, भदौ ११ :

काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही गरेको छ ।

सिलबन्दी अवस्थामा बजारमा बिक्रीका लागि राखिएको मदिरामा झिँगाजस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्डविपरीत रहेकाले महानगरले उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

भदौ ४ मा उपभोक्ता स्वयं आफैं आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएको भन्दै गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ ।

काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३) (ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ । साथै ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम धनुषा डिस्टिलरी प्रालिले कानुन उल्लङ्घन गरेको ठहर गरिएको विभागले जनाएको छ ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ ।

काठमाडौं महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।

महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।