
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी र नेतृत्वविरुद्ध सक्रियता देखाएकोप्रति आश्चर्य जनाएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान अरूले नदिएको भन्दै ओलीले भण्डारी पार्टी र नेतृत्वको विरोध गर्ने स्थितिमा पुग्नु अनपेक्षित भएको बताएका छन् ।
‘पूर्वराष्ट्रपति भण्डारीलाई मैले जति सम्मान अरू नेताले गरेका छैनन् । उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन ।’
उनले पार्टीको एकता नभड्काउन पनि पूर्वराष्ट्रपतिलाई आग्रह गरेका छन् । उहाँले पार्टीको औपचारिक सदस्यता लिने प्रक्रिया नअपनाई मिडिया र नेताहरूसँग भेटघाट गरेर सक्रिय राजनीतिमा आउने संकेत दिएको बुझाइ अध्यक्षको रहेको ओलीको सचिवालयले जनाएको छ ।
सचिवालयले प्रधानमन्त्रीको भनाइलाई मिडियामा तोडमोड गरी विषय बाहिर आएको भन्दै आपत्ति पनि जनाएको छ ।
काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल
‘भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गर्नुभएको भनाइका सन्दर्भमा कतिपय अनलाइन र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अध्यक्ष ओलीले भन्दै नभनेको एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छजस्ता भ्रामक र मनगढन्ते विषय स्वार्थबाट प्रेरित भई बाहिर ल्याइएको हाम्रो बुझाइ छ ।’
महाधिवेशन प्रतिनिधिहरुसँगको भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हितविपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनमा भएको क्षति, हाल पार्टीले अङ्गीकार गरेको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गर्दै आएका कामबारे आफ्ना विचार प्रस्तुत गरेका सचिवालयको भनाइ छ ।
ओलीको निजी सचिवालयले वास्तविकता नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न सम्बद्ध सबैमा अनुरोध पनि गरेको छ ।