काठमाण्डौँ , असोज १ :

पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा  बढोत्तरी भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले यो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिनुभयो । 

प्रभावित परिवारको सङ्ख्या भने गत वर्षको तुलनामा अलि कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिन (जेठ २८ देखी भदौ २२) सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको हो। 

गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए । 

विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । 

यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।

कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलिमिटर वर्षा भएको जनाइएको छ।