
ललितपुर महानगरपालिका- १ मा मङ्गलबार ( भोलिदेखि) इन्द्रजात्रा सुरु हुने भएको छ ।
हरेक वर्ष झै यस वर्ष पनि पहिलो दिन सङ्कटा मार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रमा र पूजासहित जात्रा सुरु हुनेछ ।
जात्राको दोस्रो दिन लाखेनाच सहित टोल परिक्रमा गरेर पूजा आराधना सहित यस वर्षको जात्रा समापन गरिने इन्द्रजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ ।
मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ ।
अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका- १ का वडाध्यक्ष निर्मल तण्डुकारले बताउनुभयो।
उहाँले यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती रहेपनि लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो ।
विशेषगरी नेवार समुदायले मनाउने यो जात्रा संरक्षणका लागि गत वर्षदेखि मनाउन थालिएको उहाँले बताउनुभयो ।
वाद्यवादनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ ।