
धनगढी, भदौ १२ :
कैलाली खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् । डुबेर मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन् ।
सुरक्षाकर्मीको उद्धार टोलीले उनीहरुको शव निकालेको छ । गोदावरी नगरपालिका –९ सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा आज उनीहरु डुबेर बेपत्ता भएका थिए । नदीमा पौडी खेल्न सात जना गएका मध्येबाट चार जना डुबेका थिए । तीन जना सकुशल छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए ।