काठमाडौं, भदौ १३ :

दार्चुलामा रहेको अपी हिमालको पहिलोपटक आरोहण गर्न १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आरोही टोलीलाई बिदा गरे । उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे ।

सरकारले हालै मात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो ।

बिदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर-शेर्पा आरोहीको संयुक्त प्रयासले हिमालारोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे ।

‘यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,’ उनले भने ।

अपी गाउँपालिकाबाट समेत संलग्न टोलीमा १५ आरोही सहभागी छन् । आरोहण अभियानमा जोखिम रहे पनि स्थानीय बासिन्दालाई समेत समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणको क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ ।