नवलपुर, भदौ १३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको दाबी गरेका छन् ।

नवलपुरको कावासोती १६, डन्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी हुँदै उनले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारु समुदायले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचान, अधिकार र आयोग जस्ता उपलब्धिहरू सम्भव हुने थिएन,’ दाहालले भने । उनले संविधान निर्माणका क्रममा थारूलाई मधेसी क्लस्टरमा राख्ने वा केवल आदिवासी जनजातिका रूपमा समेट्ने दुई धाराबीचको बहसका बेला माओवादीले थारूको ‘अलग क्लस्टर’ को मान्यता र संवैधानिक आयोगको मागलाई प्रस्ट र बलियो रूपमा उठाएको कुरा थारु समुदायले आत्मसात् गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले थारू समुदायको स्वतन्त्र राजनीतिक प्रतिनिधित्व सम्भव नदेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले नवलपुर क्षेत्रलाई विशेष वा स्वायत्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताए ।

‘नवलपुर क्षेत्रमा गैंडाकोटदेखि विनायक त्रिवेणीसम्म थारूको क्लस्टर रहेको हुँदा, त्यसलाई विशेष क्षेत्र वा स्वायत्त क्षेत्रको रूपमा मान्यता दिनुपर्छ,’ उनले भने । सोही माध्यमबाट प्रदेश र संघमा थारूको पहिचानअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने उनको भनाइ थियो ।

त्यस अवसरमा थारू संग्रहालयका लागि छुट्याइएको झन्डै ७ बिघाको अहिलेसम्म भोगाधिकार नआएको विषयप्रति चिन्ता जनाउँदै उनले यो विषयलाई संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उठाउने र वन मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

परम्परागत थारू खेल ‘भौदी’ लाई नेपाली मौलिकतासँग जोड्दै दाहालले यसलाई थारू समुदायको विशिष्ट सांस्कृतिक सम्पदा भएको उल्लेख गरे । ‘यो खेल हाम्रो नेपाली मौलिकता भएको थारू समुदायको क्रिकेटजस्तै हो,’ भन्दै उहाँ भौदी प्रतियोगिताको उद्घाटन गर्दै केही क्षण खेलमा सहभागीसमेत भएका थिए ।