पर्सा, भदौ १५ :

गृहमन्त्री रमेश लेखकले वीरगन्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

पर्साको वीरगन्जमा हैजाको प्रकोप देखिएसँगै शनिबार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको बताए । ‘अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जे जति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्न तयारी अवस्थामा रहेका छौं,’ उनले भने, ‘औषधीको कमी हुन दिने छैनौं । चिकित्सकको पनि कमी हुन दिने छैनौं ।’

उनले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीरकरण गर्ने बताए । ‘हैजाको जुन प्रकोप देखिएको छ । सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौं,’ उनले भने । अहिले सबैतिर हैजाको भाइसरको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।

शनिबार राति नारायणी अस्पताल वीरगन्जका हैजा प्रभावित विरामी र उनीहरुका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएको पनि बताए । ‘अस्पतालसँग जे जति स्रोतसाधन छ । सोहीअनुसारको उपचार भइरहेको छ,’ लेखकले भने, ‘अहिले हैजाका बिरामीको सङ्ख्या घट्ने क्रममा छ ।’ गृहमन्त्री लेखकलले अस्पतालमा उपचार गराएर फर्किने बिरामीको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भइरहेको पनि दाबी गरे ।