काठमाण्डौँ , असोज १ :

कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । 

आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ ।

नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । 

परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । 

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ । 

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । 

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । 

त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैँक प्रमोटर शेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिद बिक्री भएको छ ।