काठमाण्डौँ , असोज १ :

सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसदहरुले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने सुझाव दिनुभयो ।  

राष्ट्रियसभाको चालु सोह्रौँ अधिवेशन अन्त्यका सन्दर्भमा बोल्दै सांसद भगवती न्यौपानेले महत्वपूर्ण निर्णय, महत्वपूर्ण प्रतिवेदन पारित हुनु, समय व्यवस्थापन लगायतका कुरा राष्ट्रियसभाका सकारात्मक कदम भएको बताउनुभयो । 

विभिन्न विषयका सङ्कल्प प्रस्ताव पारित भएका उल्लेख गर्दै उहाँले सरकारले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सांसद जगप्रसाद शर्माले संविधान संशोधनको मुद्दामा, सङ्घीयता कार्यन्वयन गर्न, विकासका मोडलमा बहस नयाँ ढङ्गले चलाउन राष्ट्रिय सहमति कायम हुनुपर्नेमा जोड दिनुभयो । 

सांसद कृष्णबहादुर रोकायले विधायन व्यवस्थापन समितिमा चार विधेयक विचाराधीन अवस्थामा रहेकाले यही अधिवेशनमा पारित हुन नसक्नु दुःखद पक्ष रहेको बताउनुभयो ।

सांसद बेदुराम भुसालले दसै तिहार जस्ता पर्वहरूमा मूल्य वृद्धि  नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन बढाउनुपर्ने उहाँले बताउनुभयो ।

सांसद मोहम्मद खालिदले राजनीतिक दलका नेताले मुलुकको समृद्धि, आर्थिक विकास, रोजगारी वृद्धि, न्याय सम्पादनको गतिविधिमा  सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
 
यसैगरी सांसद शङ्करकुमार सिंहले मधेशका जिल्लामा बाढीका कारण धनजनको क्षति भएको भन्दै यसबाट हुने क्षति न्यूनीकरण र पीडितलाई समयमा नै राहत उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।