
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताउनुभएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घको ७१ औँ साधारणसभाको आज बुटवलमा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै उद्योगी- व्यवसायीमा समेत आशाको सञ्चार भएको दाबी गर्नुभयो ।
मुलुकका दुई ठूला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको समीकरण र सहयात्राले निरन्तरता पाउनेसमेत उहाँको भनाइ थियो ।
सरकार जनताका समस्या समाधान गरेर अघि बढ्ने बताउनुहुँदै आशातीत भएर लगानी गर्न उद्योगीलाई आग्रह गर्दै उहाँले सरकारले व्यावसायिक समस्या समाधान गर्न नीतिगत स्थिरता कायम हुनेगरि काम गरिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएको प्रतिकूलतालाई अनुकूल बनाउन प्रयत्नशील रहेको बताउनुभयो ।
उहाँले विकास र समृद्धिका लागि राष्ट्रिय र स्थानीय अभिभारा पूरा राष्ट्रिय रूपमा निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार प्रयत्नरत रहेको स्पष्ट पर्नुभयो ।
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउनेगरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले राजनीतिक अस्थिरताकै कारण बुटवलको मोतिपुर औद्योगिक क्षेत्रले सही रूपमा आकार ग्रहण गर्न नसकेको उल्लेख गर्नुभयो ।
औद्योगिक क्षेत्रको काम रोकिएको नभएर केही विलम्ब मात्र भएको भन्दै अब समस्या नभएका जग्गाका प्लट बनाएर निजी क्षेत्रलाई वितरण गर्ने गरी काम अघि बढाउन सरकारले आवश्यक काम गरिरहेको उल्लेख गर्नुभयो ।