
जेनजीहरूको आन्दोलनका क्रममा सोमबार काठमाडौंलगायतका विभिन्न स्थानमा भएका प्रदर्शनहरू हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या बढेको छ।
केन्द्रीय प्रहरी प्रवक्ताको कार्यालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १७ जनाको मृत्यु भएको छ भने अन्य सयौं घाइते भएका छन्। मृतकमध्ये ८ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा भएको हो।
ट्रमा सेन्टरका अनुसार हालसम्म ८ मध्ये ५ जनाको सनाखत भएको छ। सनाखत हुनेमा ग्लोबल कलेजमा अध्ययनरत भक्तपुरका १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, अन्दाजी २८/२९ वर्षीय गौरव जोशी र सोही उमेरका स्टप अधिकारी रहेका छन्। अन्य तीन मृतकको सनाखत हुन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।
ट्रमा सेन्टरका अनुसार ३ जनालाई मृत अवस्थामा ल्याइएको थियो भने बाँकी ५ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, प्रदर्शनकै क्रममा पूर्वी नेपालको इटहरीमा पनि २ जनाको मृत्यु भएको पुष्टि भएको छ। देशका विभिन्न सहरहरूमा भइरहेका प्रदर्शनमा अझै पनि तनाव कायमै रहेको र सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।
सुरक्षा अवस्था खतरनाक बन्दै गइरहेका कारण गृह मन्त्रालयले जनतालाई संयमता अपनाउन आग्रह गरेको छ भने आन्दोलनकारी पक्षसँग संवादको प्रयास जारी राखिएको जनाएको छ।