काठमाण्डौँ , असोज २ :

यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ। 

सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियार समेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने र लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो । 

मुख्यगरी सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बाल गृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत ती हतियार लैजान नपाउने गरी निषेध गरेको गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ ।  

सूचनामा नेपाल सरकारले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिँड्न इजाजतपत्र प्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने जनाएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईको अङ्गरक्षकले अदालत परिसरमा हतियार लगेको भेटिएपछि सर्वोच्चले त्यस विषयमा आवश्यक कानुन बनाउन आदेश दिए अनुसार सरकारले उक्त निर्णय गरी राजपत्रमा सूचना जारी गरेको हो ।