
काठमाडौं, भदौ २५ :
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। जेनजी आन्दोलनकारीले मंगलबार बुढानीलकण्ठस्थित निवासमा पुगेर देउवा दम्पतीलाई रगताम्य हुने गरी कुटपिट गरेका थिए ।
आक्रमणपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएका देउवाको हाल सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ। प्रारम्भिक उपचारका लागि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो भने त्यसपछि थप सुरक्षाका लागि अन्यत्र सारिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा देउवा रगताम्य अवस्थामा देखिन्छन्।आक्रमणको कुटपिटबाट घाइते भएकी डा आरजु देउवा राणा पनि अहिले सुरक्षित स्थानमा रहेकी छिन् ।