सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

कांग्रेसलाई युवाको अपेक्षाअनुसार जरैदेखि पुनर्निर्माण गर्ने महामन्त्रीद्वय थापा र शर्माको प्रतिबद्धता

प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
कांग्रेसलाई युवाको अपेक्षाअनुसार जरैदेखि पुनर्निर्माण गर्ने महामन्त्रीद्वय थापा र शर्माको प्रतिबद्धता
काठमाडौं, भदौ २५ :

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई युवाको आकाङ्क्षा र बदलिँदो समयको मागअनुसार पुनःसंरचना गर्दै जरैदेखि पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार संयुक्त वक्तव्यमार्फत उनीहरुले राष्ट्रपतिले सुरु गरेको संवाद पहलको स्वागत गर्दै त्यसलाई निष्कर्षमा पुर्‍याउन जेनजी पुस्ताको भावना अनुरूप अघि बढ्न आवश्यक रहेको बताएका छन्।

महामन्त्रीद्वयले वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न संवैधानिक, लोकतान्त्रिक र विधिसम्मत बाटो अपनाउँदै, सामाजिक एकता र सद्भाव कायम गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सोमबारको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै दोषीमाथि गहिरो छानबिनका लागि उच्चस्तरीय आयोग गठनको मागसमेत गरेका छन्।

प्रधानमन्त्रीको ढिलासुस्तीले आन्दोलन चर्किएको उल्लेख गर्दै, उनीहरूले समयमै सही निर्णय लिन नसक्नुका कारण मुलुक गम्भीर अवस्थाबाट गुज्रनु परेको बताएका छन्। सरकारी तथा निजी संस्थाहरूमा भएको तोडफोड र आगजनीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, आन्दोलनमा नियतबस हिंसा फैलाउने तत्वहरूको पहिचान गरी कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार