
आगामी सरकारको नेतृत्वका लागि जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गरेसँगै उक्त प्रस्तावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्।
बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोक सिग्देलसमक्ष कार्कीलाई अगाडि सार्दै नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका थिए। मेयर बालेन शाहले पनि कार्कीप्रति खुला रूपमा समर्थन व्यक्त गरेको बुझिएको छ ।
वार्ताका लागि सेनाको पहल : सरकारको नेतृत्व सिफारिसमा जेनजी समूहभित्रै असन्तुष्टि
तर, यो प्रस्ताव बाहिरिएपछि जंगीअड्डाबाहिर भेला भएका केही युवाहरूले असन्तुष्टि जनाउँदै नाराबाजी गरेका छन्। कतिपय प्रदर्शनकारीहरूले बालेन शाहलगायत अन्य स्वतन्त्र र नयाँ पुस्ताका नेताहरूको नाम अगाडि सार्दै नेतृत्व चयनमा अझ विस्तृत छलफल आवश्यक रहेको बताएका छन्।
बुधबार दिनभर जेनजी समूहले सामाजिक सञ्जालमा भर्चुअल माध्यममार्फत नेतृत्व चयनबारे बहस जारी राखेको थियो। ती छलफलमा पनि सुशिला कार्कीको पक्षमा बलियो मत देखिएको बताइएको छ।
जेनजीभित्र नेतृत्व र एजेन्डाका विषयमा मतैक्यता कायम गर्न कठिन भइरहेको बेला कार्कीको नामले केही हदसम्म स्पष्टता ल्याए पनि पूर्ण सहमति कायम भइनसकेको देखिन्छ।