काठमाडौं, भदौ २६ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालको संकट समाधान संविधानको दायराभित्रै खोजिनु पर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले संविधान बाहिर गएर अगाडि बढेमा स्थिति झन् भयावह हुने चेतावनी दिएका छन्। ‘अब गर्ने सबै निर्णय संविधानमा टेकेर हुनुपर्छ,’ उनले भने, ‘संविधानको निरन्तरता कायम राख्न अत्यन्त संवेदनशील हुन आवश्यक छ।’

आन्दोलनमा क्षति र घुसपैठको छानबिन माग

थापाले पछिल्लो आन्दोलनका क्रममा भएको क्षति हालसम्मकै आन्दोलनहरुभन्दा गम्भीर भएको उल्लेख गर्दै, आन्दोलनमा ‘घुसपैठ’ भएकाले यस्तो क्षति भएको आशंका व्यक्त गरे। ‘यो जेनजी आन्दोलनमा को घुसेर यस्तो गर्‍यो? कसका कारण यस्तो भयो? एक-एक छानबिन गरी कारबाही हुनुपर्छ,’ उनले भने।

१९ जनाको मृत्युमा माफी मागे

आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै थापाले आफूले माफी माग्ने बताए। साथै, सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा आफूले रोक्न नसकेको भन्दै पश्चातापसमेत जनाए। थापाले आफ्नो निजी निवासमा आगजनी हुँदा आफू घरमै रहेको उल्लेख गर्दै, आगो लगाउन आएका केही व्यक्ति नयाँ पार्टीका कार्यकर्ता रहेको र तीमध्ये केहीलाई आफूले चिन्ने दाबी गरे।

‘मेरो घरमा आगो लगाउन आएका केही मास्क लगाएका थिए, ती मान्छेलाई म चिन्छु,’ उनले भने। थापाले जेनजी आन्दोलनले उठाएका मागहरू आफूले संसद् र पार्टीभित्र उठाए पनि समाधानमा पुग्न नसकेको स्वीकार गर्दै, अब सुधारको प्रयास गर्ने प्रतिबद्धता जनाए।