
जेनजी समुहको आन्दोलनले देश नै अभिभावकबिहिन अवस्थामा पुगेपछी आम सर्वसाधरण तहमा चिन्ता बढेको छ । वर्तमान व्यवस्था,लोकतन्त्र र संविधान नै जोखिममा पर्ने खतरा पनि बढ्दै गएको भन्दै चासो बढेको देखिन्छ । अर्कातिर संसद विघटन गर्नुपर्ने आन्दोलनकारी समुहको मागले पनि अनेक शंका उपशंकाहरु पैदा गरेको छ । तर जानकार तथा संविधानका विज्ञहरुले भने अहिले भर्खरै व्यवस्था र संविधान जोखिममा पर्ने अवस्था नरहेको बताएका छन् ।
यस सन्दर्भमा सक्रिय समाचारले संविधानविद् डा. विपिन अधिकारीसंग जेनजी आन्दोलनपछि देशको अवस्था, निकासको उपाय र संविधान तथा लोकतन्त्रको विषयमा छोटो कुराकानी गरेको छ ।
देशको अहिलेको परिस्थितिलाई तपाईले कसरी लिनु भएको छ ?
अहिले देशमा अलिकति अस्थिरता छ । अस्थिरता हुनुको प्रमुख कारण भनेको हामीसँग कार्यशील सरकार नहुनु हो । राष्ट्रपतिले सरकार निर्माणको नेतृत्व गर्नुभएको छ । त्यसलाई पनि नेपाली सेनाले सहयोग गरिरहेको छ । चाँडो भन्दा चाँडो सरकारको नियुक्ति हुने वित्तिकै निकास आउँछ र त्यति नै छिटो अहिलेको परिस्थितिमा परिवर्तन आउँछ । यद्यपि अब स्थिति भने निकै भयावह छ । किनभने यो जुन लेभलमा आगजनी र तोडफोड भइरहेका छन्,त्यो हेर्दा खेरी र वर्तमान परिस्थितिमा जुन अनिश्चितताको सृजना भएको छ त्यसले गर्दा सर्वसाधरणहरु आतिनुपर्ने र चिन्ता गर्नुपर्ने अवस्था कायमै छ जुन स्वभाविक पनि हो । तर मलाई लाग्छ,अब राष्ट्रपतिले चाँडोभन्दा चाँडो सरकारको नियुक्ति गरेर उक्त सरकारलाई सहयोग गर्ने प्रक्रिया सुरु भएपछि बिस्तारै अवस्था सामान्य बन्दै जान्छ ।
यसको निकास चै कसरी निकाल्न सकिएला?
यसको निकास भनेको सरकारको नियुक्ति नै हो । नयाँ प्रधानमन्त्रीको नियुक्ति हो ।
नियुक्ति गरिएको नयाँ प्रधानमन्त्रीले राष्ट्रिय सरकार निर्माण गर्ने हो र त्यो राष्ट्रिय सरकारले अहिलेका समस्याहरुलाई समाधान गर्ने हो । तर समाधान गर्दा एउटा राष्ट्रिय दृष्टिकोण चाहिँ राख्नुपर्ने देखिन्छ ।
संसद विघटनको कुरा पनि आइरहेछ नि यसलाई कसरी लिनुभएको छ ।
कुरा त आएको छ तर संसद विघटन गर्ने भनेको प्रधानमन्त्रीको सिफारिसमा हो । अरु कसैले गरेर संसद विघटन हुँदैन । पनि प्रतिनिधी सभा मात्रै हो विघटन हुने । उता राष्ट्रिय सभा त संविधानअनुसार विघटन हुँदै हुँदैन । यो चाहिँ एउटा स्थिर, स्थायी सभा हो ।
तर प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीले सिफारिस गर्नुपर्छ । र प्रधानमन्त्रीले सिफारिस गर्नलाई सबैभन्दा महत्वपूर्ण कुरो भनेको अबको छ महिनामा निर्वाचन गराउने एउटा स्पष्ट निर्देशन आउनु पर्छ र त्यसमा गर्न सकिन्छ । अहिलेको अवस्था हेर्दा पहिलो उद्देश्य त्यो होइन,पहिलो उद्देश्य त अहिले सरकारको गठन नै हो ।
त्यसो भए अहिलेको व्यवस्था गणतन्त्र तथा लोकतन्त्र र संविधानमाथि कत्तिको खतरा छ ।
अहिले भरखरै त्यस्तो खतरा त मैले देखेको छैन । अलिकति अनिश्चितता भने अवश्य छ ।
अहिले राष्ट्रपति र राष्ट्रपतिलाई सहजीकरण गर्ने नेपाली सेना यो दुइटा बीचको सम्बन्धले प्रभाव पार्छ । यसका बारेमा अब मान्छेहरुले विभिन्न टीकाटिप्पणी भने गरेका छन् । यो चाँही कतिपय अवस्था थाहा नपाएर गरेको हुन सक्ने अवस्था धेरै छ । मलाई लाग्दछ, यो प्रजातन्त्रमै त अहिलै कुनै चुनौती आइसकेको छैन ।
त्यसो भए यो संविधानको विकल्प खोज्ने बेला भएको छैन ?
हो,अहिले संविधानको विकल्प खोज्ने बेला पनि भएको छैन र खोज्न पनि हुँदैन । यो आन्दोलनले पनि त्यसलाई केन्द्रित गरेको देखिँदैन । त्यसकारण अहिले सृजित कुनै पनि समस्याको समाधान संविधान भित्रैबाट खोज्नुपर्छ । संविधानको रक्षा गर्नैपर्छ ।