
नेकपा एमालेले पछिल्लो राजनीतिक संकटको समाधान संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनु पर्नेमा जोड दिँदै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवाद र समझदारीमा आउन आह्वान गरेको छ।
पार्टी महासचिव शंकर पोखरेलले बिहीबार पार्टी सचिवालयको तर्फबाट जारी गरेको विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व, संविधानको रक्षा, र जनताका आधारभूत अधिकारहरू सुनिश्चित गर्न सबै दलले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ।
‘संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरू पारस्परिक संवादमा आऊन्,’ विज्ञप्तिमा भनिएको छ, ‘र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि आवश्यक समझदारी निर्माण गरियोस्।’
सबै तहका सरकारलाई सक्रिय र जिम्मेवार बन्न आग्रह
एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूलाई आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षामा रचनात्मक भूमिका खेल्न आग्रह गरेको छ। साथै, स्थानीय तहहरूलाई निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने पनि उल्लेख गरिएको छ।
पार्टीले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिमा संविधान र लोकतान्त्रिक विधिको मर्यादा उल्लंघन नहुने गरी संवैधानिक बाटोबाटै समाधान खोजिनुपर्ने धारणा दोहोर्याएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एमाले संविधानको संरक्षण, लोकतन्त्रको सुदृढीकरण र स्थायित्वमा दृढ रहेको छ।’