
जेनजी आन्दोलनकारीको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।
देउवा निवासमा भएको आक्रमणपछि दुवै दम्पती घाइते भएका थिए। तत्कालै नेपाली सेनाको टोलीले उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो।
नेपाली सेनाका एक वरिष्ठ अधिकृतले दिएको जानकारीअनुसार, देउवा दम्पतीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। ‘हाल उनीहरू सुरक्षित स्थानमा सेनाको सुरक्षामा हुनुहुन्छ,’ ती अधिकृतले भने, ‘स्वास्थ्यमा ठूलो समस्या छैन, आवश्यक स्वास्थ्य परीक्षण र निगरानी भइरहेको छ।’
जेनजी आन्दोलनको क्रममा सुरक्षाको अभावबीच देउवाको बुढानीलकण्ठस्थित निवासमा आक्रमण गरिएको थियो।
घटनापछि कांग्रेस नेताहरूले आन्दोलनकारीहरूप्रति आक्रोश व्यक्त गर्दै शान्तिपूर्ण विरोधको नाममा हिंसा सह्य नहुने चेतावनी दिएका छन्। कांग्रेस भित्रैबाट पनि सुरक्षा कमजोरीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।