सल्यान, भदौ ३१ :

भारतको हिमाचल प्रदेश अन्तर्गत शिमला जिल्लाको कोटखाई क्षेत्रमा भएको एक जिप दुर्घटनामा परेर सल्यानका एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा कुमाख गाउँपालिका–४ बस्नेतज्युलाका ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको घटनास्थलमै मृत्यु भएको कुमाख गाउँपालिका–४ का वडाध्यक्ष शोभीलाल बस्नेतले जानकारी दिए।

श्रमका लागि सिमला गएका उनीहरू काममा जाँदै गर्दा सोमबार पिकअप गाडी दुर्घटनामा परेका थिए। अध्यक्ष बस्नेतका अनुसार लक्ष्मी शाही एक वर्षअघि शिमला गएकी थिइन् भने अन्य तीन जना असार महिनामा धान रोपाइँ सकेर भारततर्फ गएका थिए। दसैं नजिकिँदै गर्दा घर फर्किने तयारीमा रहेका बेला भएको दुर्घटनाले गाउँमा शोकको छायाँ छाएको छ।