काठमाडौं, भदौ ३१ :

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई पदबहालीको बधाई दिँदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

भेटमा दुबै नेताबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, विकसित घटनाक्रम तथा समसामयिक विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको हालको कामकारबाही, संस्थागत अवस्था, बानेश्वरस्थित संघीय संसद् भवन र सिंहदरबारस्थित संसद् सचिवालयमा भएको क्षतिको जानकारी पनि प्रधानमन्त्रीलाई गराएका थिए।

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभाको भूमिका लोकतन्त्र सुदृढ पार्न र मुलुकलाई शान्ति तथा स्थिरताको दिशातर्फ लैजान महत्वपूर्ण रहने बताइन्। उनले राष्ट्रिय सङ्कट समाधान गर्न सबै पक्षले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

दुबै नेताबीच भविष्यमा पनि संसद् र सरकारबीच आपसी समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ।