काठमाडौं, असोज ५ :

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूलाई  जीर्ण र काम नगरेका आयोजना मात्रै तोडिने स्पष्ट पारेका छन्।

नेपाल निर्माण व्यवसायी महासङ्घसँगको भेटमा उनले पूर्वाग्रह होइन काम नगर्ने प्रवृत्तिविरुद्ध कारबाही हुन्छ भन्दै, अलपत्र परेका आयोजना अब सहन नसकिने बताए।

उनको भनाइमा कम मूल्य कबोल गरेर ठेक्का लिने, तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। बजेट डिजाइन सबै तयार हुँदा पनि निर्माण नहुनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

मन्त्री घिसिङले आफू पनि इन्जिनियर भएकाले ठेक्का प्रक्रिया राम्ररी बुझ्ने उल्लेख गर्दै, अन्यायपूर्ण रूपमा कसैलाई कारबाही नगर्ने तर समयमै काम नगर्नेहरूलाई छुट नदिने बताए।

उनले विदेशमा राम्रो काम गरेका निर्माण व्यवसायीहरू नेपालमै असफल हुनु दुःखद भएको बताउँदै, समयमै गुणस्तरीय काम गरेर नेपालमा पनि आफूहरू सक्षम छौं भन्ने प्रमाणित गर्नुहोस् भन्ने आग्रह गरे।

भ्रष्टाचार नियन्त्रण अहिलेको सरकारको प्रमुख एजेन्डा रहेको स्मरण गराउँदै, निर्माण क्षेत्रमा सुधार ल्याउन व्यवसायीहरूलाई आह्वान पनि गरे।

भेटमा महासंघले निर्माण क्षेत्रका समस्याबारे ज्ञापनपत्र बुझाएको थियो।