काठमाडौं, असोज ५ :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणबाट राजीनामा नदिने भएका छन् ।  ऊर्जामन्त्री कुलमान घिसिङले छाडेर जान दबाब दिइरहेका बेला शाक्य अहिले नै राजीनामा दिएर नजाने पक्षमा देखिएका छन् ।

म्यान्डेटअनुसार काम गर्न तयार रहेका शाक्यले बरू ऊर्जामन्त्रीको निर्णय अनुसार डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने गरी जिम्मेवारी सम्हालेका छन् ।

शाक्यले डेडिकेटेड ट्रंक लाइनको अर्बौं बाँकी विद्युत वक्यौता उठाउन प्राधिकरणको बोर्ड डाक्ने तयारीमा छन् । बोर्ड बैठक डाकेर वक्यौता उठाउने मन्त्रीको निर्णयलाई कार्यान्वयनमा लैजाने भएका छन् ।

सरकारको निर्णय मानेर जाने बताएका शाक्यले केही दिनमै बोर्ड बैठक बसेर वक्यौता उठाउन आवश्यक कदम चाल्ने बुझिएको छ । 
उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युतको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बाँकी छ।

शाक्यले शनिबार मात्रै सामाजिक सञ्जालमार्फत देश र संस्थालाई धोका नदिने बताएका छन् । उनले हालको चुनौतीपूर्ण अवस्थामा भागेर वा जिम्मेवारी छोडेर होइन, बरु अझ कडा मेहनत गरेर काम गर्ने निर्णय लिएको उल्लेख गरेका छन्।