गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) ले अक्टोबर अन्तिम साता वार्षिक साधारणसभा गर्ने भएको छ ।
साधारण सभामा ७ विशेष प्रस्तावमाथि छलफल हुनेछ।
गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले आगामी २७ अक्टोबरमा 'एनआरएनए डे' र २८ अक्टोबरमा वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ।
‘एनआरएनए डे’ मनाउनको लागि संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ।
जोशीका अनुसार संघका राष्ट्रिय समितिलाई सो साधारणसभामा प्रतिनिधि पठाउनको लागि परिपत्र गरिएको छ।
सााधारण सभामा तीन हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागितारहने आयोजकको अनुमान छ ।
साधारण सभा हाइब्रिड माध्यमबाट आयोजना हुनेछ।
साधारणसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक क्रियाकलापसम्बन्धी महासचिवको सांगठनिक (वार्षिक) प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८० र ०८१ को आय-व्ययको विवरण, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, विभिन्न विभागहरूको प्रतिवेदन अनुमोदन, र राष्ट्रिय समन्वय परिषद्का प्रतिवेदन अनुमोदनजस्ता प्रस्तावमाथि छलफल गरिनेछ।
यसैबीच, वार्षिक साधारणसभा-२०२४ का लागि गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसहित) को दफा १४ को उपदफा १४.१० अनुसार, प्रत्येक १ हजार पञ्जीकृत सदस्यको लागि १ प्रतिनिधि नियुक्त गर्न सकिने प्रावधान रहेको छ।
तथापि, एक संघबाट ७ जनाभन्दा बढी प्रतिनिधि पठाउन नमिल्ने बैधानिक प्रावधान छ ।
प्रतिनिधिहरूको नामावली साधारणसभा बस्ने दिनभन्दा २० दिन अगाडि अर्थात अक्टोबर ७ सम्म केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ।