
कोलम्बो, असोज ६ :
यू-१७ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले उपाधिका दाबेदार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो।
सोमबार कोलम्बोको रेस कोर्स मैदानमा भारतले समूह चरणको निर्णायक खेलमा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको थियो। भारतका लागि रहान अहमदले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याए।
यसअघि समूह चरणमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो भने बंगलादेशसँग ४–० को हार बेहोरेको थियो।
दुवै सेमिफाइनल खेलहरू आगामी बिहीबार हुने तालिका तय गरिएको छ। अब नेपालको चुनौती भारतविरुद्धको महत्वपूर्ण भिडन्तमा हुनेछ।