काठमाडौं, असोज ७ :

मोडर्न कन्या कलेजले आफ्नो १९औं वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदानसँगै शैक्षिक उत्कृष्टता हासिल गरेका छात्राहरूलाई सम्मान गरेको छ।

सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. रामप्रसाद दाहालले महिला शिक्षाको पहुँच र विस्तारमा अझै पनि नेपाली समाजले गम्भीर रूपमा लागिरहनुपर्ने आवश्यकता औंल्याए। उनले महिलाले भोगिरहेका चुनौतीहरूको समाधान गर्दै उच्च शिक्षामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।

यस्तै कार्यक्रममा प्रा. मुकुन्दराज दाहाल, ज्ञानेन्द्र भट्टराई, दीपेन्द्र कार्की, भरत सापकोटा, श्यामबहादुर कार्की, बिष्णु केसी तथा सञ्चारकर्मी सुरेन्द्र पौडेल र मिलन चौतारीकी सभापति रेनुका कडेलले शिक्षाको बहुआयामिक पक्षमाथि विचार राखेका थिए।

कलेजका प्रिन्सिपल सविन पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने छात्राहरू जमुना बस्नेत, दुर्गा रेग्मी, स्वेता थापा र शर्मिला कार्कीलाई  अतिथिहरूद्वारा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

नजिकिँदै गरेको दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा एक-अर्कामा शुभकामना आदानप्रदान गरिएको कार्यक्रमको सुरुवातमा हालै सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौनधारणबाट गरिएको थियो।