
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको अपिल गरेका छन्। बिहीबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले जेन–जी आन्दोलनपछि देशको बदलिएको परिस्थितिलाई आत्मसात् गर्दै पार्टीलाई सुधार्न र पुनःगठन गर्न सबैसँग सहयोगको आग्रह गरेका हुन्।
भट्टराईले पार्टी इतिहासका संकटहरू स्मरण गर्दै पुनर्गठनले नै पार्टीलाई जोगाएको उल्लेख गरे। उनले २०६१ सालको १९ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको संवैधानिक कूपछि पनि एमालेभित्र युवा पुस्ताको अगुवाइमा पुनर्गठनको बहस चलेको र त्यसले पार्टीलाई नयाँ दिशा दिएको उदाहरण प्रस्तुत गरे।
उनले भने, ‘इतिहासका संकट र मोडहरूमा हामी पुनर्गठित भएका छौं। आज पनि आत्मभर्त्सना होइन, आत्मसमीक्षा जरुरी छ।’ भट्टराईका अनुसार कमजोरी स्वीकार गरेर अगाडि बढ्नु पर्ने बताए।
भट्टराईले हालैको जेन–जी आन्दोलनले जनताको असन्तोष प्रकट गरेको स्वीकार गर्दै, बदलिएको आवश्यकतालाई सम्बोधन गर्न नसकेकोमा माफी मागे। २३ भदौले सबै कुरा ठीक थिएन भन्ने देखाएको उल्लेख गर्दै उनले जनभावनाको कदर गर्नुपर्ने बताए।
जेन–जी आन्दोलनमाथि भएको दमनको न्यायिक छानबिनको माग गर्दै भट्टराईले भदौ २४ मा भएका हिंसात्मक गतिविधिहरूले आन्दोलनको पवित्र उद्देश्यलाई बदनाम बनाएको टिप्पणी गरे।
उनले मुलुकलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको चर्चा भए पनि त्यसबारे अहिले टिप्पणी नगर्ने बताए। तर संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको पुनर्जागरण, र निर्वाचनमार्फत् देशलाई सही दिशामा लैजानु आजको पहिलो प्राथमिकता भएको उनको धारणा छ।