दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदाहरुले सरकारका नीतिप्रति समर्थन व्यक्त गरेका छन् । अर्थ मन्त्रालयमा भएको बैठकमा दातृ निकायका प्रतिनिधिहरुले समर्थन व्यक्त गरेका हुन् ।
बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विकास साझेदारहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुराउँदै आएकोमा धन्यवाद दिँदै वर्तमान सरकारका तत्कालका प्राथमिकताहरुमा प्रकाश पारेका थिए ।
साथै, नेपालमा हाल भएको परिवर्तन पश्चात गठित अन्तरिम सरकार युवाहरुको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताए। आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययी माध्यमबाट पुनर्निर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने उल्लेख गरे।
कार्यक्रममा विकास साझेदारहरुको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधिहरु, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमप्रति सहमति जनाएका छन् ।
विकास साझेदारहरुले चालू रहेका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गरेको अर्थमन्त्रालयले जनाएको छ। नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा अर्थमन्त्रालयमा विभिन्न देशका नेपालस्थित राजदूतहरु, नेपालस्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिशनका प्रतिनिधिहरु र बहुपक्षीय तथा द्धिपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरुबीच छलफल भएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री