
जेनजी आन्दोलनपछिको हिंसात्मक घटनामा सिंहदरबारलगायतका महत्त्वपूर्ण संरचना जल्नबाट रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको भूमिकाबारे स्पष्ट पार गरेका छन्।
पृतनापतिहरूसँगको बैठकमा उनले रक्तपात रोक्न र नेपाललाई विदेशी शक्तिको खेलमैदान बन्न नदिन सेनालाई तत्काल बाहिर ननिकालिएको बताएका हुन्। भदौ २४ गतेको हिंसा अघि २३ गते १९ जना प्रदर्शनकारी मारिएपछि परिस्थिति झनै बिग्रन नदिन यस्तो निर्णय गरिएको हो।
प्रधानसेनापतिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चारपटक राजीनामा दिन आग्रह गरे पनि उनले नमानेको स्रोतको दाबी छ। सेनाले भदौ २४ गते सुरक्षाको कमान आफ्नो हातमा लिएर कर्फ्यु जारी गरेपछि स्थिति नियन्त्रणमा आएको थियो।
स्रोतका अनुसार, राजीनामाको लागि अन्तिम समयसम्म सेनाप्रमुखले ओलीसँग कडा ढंगले आग्रह गरेका थिए। देउवा दम्पतीमाथि भएको आक्रमणपछि मात्र ओली राजीनामा गर्न सहमत भएका थिए।
प्रधानसेनापति सिग्देलले संविधान जोगाएर न्यून क्षतिमा समाधान खोज्न काठमाडौँ महानगर प्रमुख बालेन शाह, प्रधानन्यायाधीश सुशीला कार्की लगायतसँग पनि छलफल गरेका थिए।