
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत सेवा लिने उद्योगहरुलाई बक्यौता तिर्न २१ दिने अल्टिमेटम दिएको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महसुल बक्यौता रहेको उद्योगीहरुलाई १७ कात्तिकभित्र तोकिएको रकम तिर्न आग्रह गरेको हो।
यसअघि प्राधिकरणले बक्यौता भएका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठ २० सम्म निवेदन दिने मौका दिएको थियो। सोही अनुसार २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित गरिएको थियो। अब उद्योगीहरुले पुरानै शूल्क अनुसार महसुल तिर्नुपर्ने भएको हो।
प्राधिकरणका अनुसार बक्यौताको हिसाब टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गरिएको हो।
बक्यौता रकम एकमुष्ट तिर्न नसक्ने ग्राहकका लागि २८ किस्तासम्ममा तिर्न सकिने सुविधा पनि दिइने प्राधिकरणले जनाएको छ। तर, तोकिएको म्यादभित्र महसुल तिर्न असफल भएमा कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ।