काठमाडौं, असोज १४ :

कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।  यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

नलगाड नगरपालिका–१२, १३ सँगै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, ५, ६ मा पूर्ण रूपमा सञ्चार सेवा अवरुद्ध भएको हो । यस्तै, बारेकोट गाउँपालिका–५ मा रहेको रतनकोटस्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट वञ्चित भएको छ ।

रुकुम पश्चिमको गोतामकोट, जाजरकोटको नायकवाडा तनकोटको टावरमा समस्या आएपछि यहाँका नागरिक दसैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको नलगाड नगरपालिका प्रमुख डम्मर रावतले जानकारी दिनुभयो । सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पुर्‍याए पनि समाधान नभएको उनले बताए ।  

यस्तै, सोही टावरको सहायताले डोल्पाको मुडकेचुलामा रिले गर्ने भएकाले डोल्पाको मुडकेचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्ययका अनुसार समस्या आएको ठाउँमा काम भइरहेको छ । गोतामकोट टावर मर्मत गरेर नायकवाडा मर्मत हुने उनले जानकारी दिए ।