काभ्रे, असोज १६ :

मनसुनको सक्रियताका कारण सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातिको सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ।

स्थानीय प्रशासनको निर्णय अनुसार आजदेखि २१ गतेसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको हो।

काभ्रे भञ्ज्याङ–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा भारी वर्षाको पूर्वानुमानसहितको उच्च जोखिम रहेको भन्दै जिल्ला सुरक्षा समिति तथा जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले यो निर्णय गरेको हो। 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एम्बुलेन्स र अत्यावश्यक सेवामा खटिएका सवारी बाहेक सबै प्रकारका सवारीसाधन रातिको समयमा सञ्चालन गर्न नपाइने स्पष्ट पारे।

रोशी खोला र अन्य स्थानीय खोलामा पानीको सतह बढ्न सक्ने जोखिम रहिएकाले पूर्वसावधानीस्वरूप यस्तो निर्णय गरिएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन, विशेषगरी रातको समयमा यात्रा नगर्न र पहिरोको उच्च जोखिम भएका स्थानहरू तथा नदी किनारका बस्तीहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षाले बीपी राजमार्गका धेरै खण्डमा बाढी र पहिरोबाट ठूलो क्षति पुगेको थियो। ती क्षतिग्रस्त खण्डहरूको पुनर्निर्माण अझै पूरा नभएकाले यसपालिको मनसुनमा पनि जोखिम कायमै रहेको प्रशासनले जनाएको छ।