
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा आयोजक मलेसियासँग तीन रनले पराजित भएको छ।
टस जितेर ब्याटिङ रोजेको मलेसियाले ५ विकेटको क्षतिमा १०४ रन बनायो। जवाफी लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।
नेपालका लागि पूजा महतोले ३०, सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ रन र कप्तान इन्दु बर्माले १२ रन जोडिन्। मलेसियाका नुर दानियाले तीन विकेट लिइन्। मलेसियाका लागि कप्तान विनिफ्रेडले २७, हासिमले २६ र एलिसाले २५ रन बनाइन्। नेपालकी सोमु बिष्टले दुई र रुविना क्षेत्रीले एक विकेट लिइन्।
यो नेपाल र मलेसियाबीचको १२औं टी-२० अन्तर्राष्ट्रिय खेल हो। अहिलेसम्म नेपालले ७ र मलेसियाले ५ खेल जितेका छन्। पाँच खेलको शृंखलाअन्तर्गत दोस्रो खेल शनिबार, तेस्रो आइतबार, चौथो मंगलबार र अन्तिम खेल बुधबार हुनेछ।