काठमाडौं, असोज २२ :

देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबान पीडितहरुको तथ्यांक संकलन जनशक्ति अभावका कारण प्रभावित भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परेकाहरुको तथ्यांक संकलन गर्न समेत जनशक्तिको अभावका कारण समस्या आएको जनाएको हो । बुधबार काठमाडौंमा आयोजित विपद्बाट प्रभावित घर परिवारलाई राहत व्यवस्थापन गर्ने सम्बन्धि छलफल कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले क्षतिको वितरण ल्याउनका लागि कर्मचारीको अभाव भएको स्पष्ट पारे । 

उनले धेरै मानवीय क्षति भएको इलामको विवरण समेत जनशक्तिको अभावका कारण अझै यकीन हुन नसकेको उल्लेख गर्दै कर्मचारीहरुको आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागसँग आग्रह गरे । कार्यकारी प्रमुख भट्टले पीडितहरुलाई खाद्यान्नको अभाव हुने भएकाले त्यसको अभाव हुन नदिनका लागि तयारी अवस्थामा रहन पनि सम्बन्धित निकायलाई सचेत गराए ।

उनले भने, ‘इलाममा बढी मानवीय क्षति भएको छ । र इलामको किन अझै विस्तृत वितरण आउन सकेन त ? त्यहाँ उहाँहरुसँग कर्मचारी पनि कम छ । त्यही भएर डाटा कलेक्शन हुन सकेन । कतिपय गरिएका कामहरु पनि किन देखिएको छैन त ? भन्दा त्यहाँबाट लिने सिष्टम नै भएन । त्यसो भएको हुनाले मैले गृह सहसचिवज्युलाई अनुरोध गरेँ–तत्कालै केही प्रशासनिक कर्मचारी पठाउने व्यवस्था गृहबाट गर्नु पर्‍यो । इन्जिनियर सहरी विकास तथा भवन निर्माण विभागले दिन्छु भनेको छ । त्यो भयो भने दुई वटै क्षतिको विवरणसँगै आउँछ भन्ने मलाई विश्वास छ ।’

यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव मोहनकुमार घिमिरेले सबै कर्मचारीलाई कार्यस्थलमा पुग्न निर्देशन भइसकेको जानकारी गराएका छन् । उनले विभिन्न स्थानीय निकायबाट कर्मचारी नभएको जानकारी आफूरुलाई पनि प्राप्त भएको उल्लेख गर्दै तत्काल कार्यस्थलमा पुग्न सबैलाई निर्देशन भएको दाबी गरे ।

उनले भने,‘सबै कर्मचारीलाई अनिवार्य कार्यस्थलमा पुग्न निर्देशन भएको छ । केही केही स्थानमा अहिले पनि कर्मचारी नभएको कुरा आएको छ । इच्छाकामना नगरपाकिलाको कुनै पनि वडामा वडा सचिव छैनन भन्ने जानकारी आएको छ । हामीले कर्मचारी व्यवस्थापन गर्ने विषयमा साथीहरुले काम गरिरहनुभएको छ ।’

यसैबीच काठमाडौं महानगरपालिकामा नै पीडितहरु खाद्यान्नको समेत आवश्यक व्यवस्था नमिलाएको पाइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले काठमाडौंको बल्खु सेल्टरमा पीडितहरुका लागि खाद्यन्नको अभाव भएको उल्लेख गर्दै आवश्यक प्याकेजको व्यवस्था तत्काल गर्नुपर्ने जनाएको छ । विभागका वरिष्ठ इन्जिनियर प्रदीप खनालले रौतहटमा ३ हजार भन्दा बढी घर डुबानमा परेको उल्लेख गर्दै उनीहरुका लागि थप खाद्यन्नको अभाव हुने देखिएकाले यसको व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने बताए । उनले झापा, वाग्मती किनारा, लालबकैया नदी आसपासको क्षेत्रमा पनि पीडितहरुमा खाद्यन्न आवश्यक व्यवस्था गर्नुपर्ने बताए।

उनले भने,‘झापामा २ हजार भवन क्षति भएको भन्ने हाम्रो तथ्यांक छ । त्यसमा सेभ दि चिल्ड्रेनले पनि सहयोग गरिरहेको छ । तर रौतहटको हकमा भने मैले के जानकारी दिएभने आइतबार बिहान मैले त्यहाँको सीडीयो सावसँग रेडक्रस र हामीले कुरा गरेका थियौं । अब मौसमको प्यार्टन हेर्ने भने पनि सबै भन्दा धेरै पानी त्यही परेको छ । बागमती नदी र लालबगैया नदी किनारमा बेसी समस्या थियो । सीडीयो सावको अनुसार थ्री थाउजेन्ट बढी हाउसहरु डुवेको छ । त्यही भएर उनीहरुलार्इं सुरक्षित ठाउँमा सेना, प्रहरी र स्थानीय सरकारको सहयोगमा राखिएको छ । उनीहरुलाई खाद्यन्नको सर्पोट गर्न पाए हुन्थ्यो । पालिकासँग स्टक छैन । अन्तबाट सहयोग भए हुन्थ्यो । यसमा मैले सेभ दि चिल्ड्रेनलाई पनि सहयोगका लागि अनुरोध गरेको थिए । युनिसेफले मधेश प्रदेशमा काम गरिराखेको छ । काठमाडौं महानगरपालिकाको बल्खु क्षेत्रमा नै खाद्यन्नको अभाव देखिएको छ । त्यहाँ खाद्यन्नको अभावका कारण बालबालिकाहरुमा बढि असर देखिएको छ । त्यसकारण  खाद्यन्नको लागि सहज आपूर्ति हुने मेकानिज्म बनाउनुपर्नेछ । रौतहतमा पनि खाद्यन्नको प्याकेज जानु पाए हुन्थ्यो भन्ने छ । रौतहटको डुबान क्षेत्रमा अहिले पनि खाद्यन्नको डिमान्ड छ ।’

छलफलका क्रममा विद्यालयहरुमा मानवीय क्षति नभएको जानकारी गराइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत शिवराज पोखरेलले विदाको समय भएकाले विद्यालयहरुमा मानवीय क्षति हालसम्म नभएको पाइएको बताए । उनले विद्यालयहरुमा धेरै ठूलो डयामेजको अवस्था नरहेको पनि तथ्यांक प्रस्तुत गरे ।

शाखा अधिकृत पोखरेलले भने,‘विपद्को यो बेलामा सुरक्षित विद्यालयहरु पहिचान गरेर त्यस्ता ठाउँमा पीडितहरुलाई राख्न सकिन्छ भनेर त्यो हिसावले सञ्चार गरियो । र, त्यहाँका प्रअहरुलाई विद्यालय खोलेर त्यहाँ पीडितलाई राख्नका लागि हामीले तत्काल अनुरोध गरेका थियौं । दोस्रो प्रभावितहरुको विस्तृत विवरण आईसकेको छैन । वाग्मतीमा १२ वटा विद्यालयहरु, त्यस्तै कोसीमा ६ वटा, मधेसमा ७१ वटा विद्यालयहरु सामान्य क्षति भएको आएको छ । ठूलो ड्यामेज छैन । र इलामको विस्तृत विवरण आउन बाँकि छ । त्यहाँ हामीले सम्पर्क गरिराखेका छौं । अब यो विदाको बेलामा बाढी र डुबान भएको हुनाले हालसम्म शिक्षक विद्यार्थी हताहत भएको विवरण हालसम्म आएको छैन ।’

शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार विपदमा परी बागमती प्रदेशमा मा १२ वटा, कोशी प्रदेशमा ६ वटा, मधेस प्रदेशमा मा ७१ वटा विद्यालयहरु सामान्य क्षति भएको छ । शाखा अधिकृत पोखरेलले इलामको भने विस्तृत विवरण आउन बाँकी रहेको बताए ।