
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारका लागि सबै प्रकारका र्याली , सभा र प्रदर्शनमा प्रतिबन्ध लगाएको छ। विभिन्न समूहले शनिबार आयोजना गर्ने भनिएको मोटरसाइकल र्याली, सभा र प्रदर्शनमालाई ध्यानमा राख्दै प्रशासनले प्रतिबन्ध लगाएको हो ।
गत भदौ २३ गतेको जेन–जेड आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनालाई स्मरण गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यस्तो निर्णय गरेको जनाएको छ । शनिबार दिउँसो १ बजे युवा संघले कोटेश्वर–तीनकुनेमा मोटरसाइकल र्याली आयोजना गर्ने तयारी गरेको थियो।प्रशासनले शान्ति–सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पूर्वस्वीकृति बिना कुनै कार्यक्रम नगर्न आग्रह गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ- ‘फरक–फरक समूहहरूले मिति २०८२ असोज २५ गते शनिबारका दिन काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली तथा सभा गर्ने सूचना प्राप्त भएको छ । यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगरिने निर्णय गरिएको छ ।’
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्वस्वीकृति बिना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउन सबैलाई आग्रह गरिएको छ ।