
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी युवा आन्दोलन’का क्रममा भएको अप्रिय घटनाबारे छानबिनको माग गर्दै नेविसंघले काठमाडौं र ललितपुर जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता गराएको हो। साथै उनीहरूलाई पक्राउ गरी २४ घण्टाभित्र अनुसन्धान अघि बढाउन माग गरिएको छ।
नेविसंघका अनुसार बालेन र सुदनले विद्यार्थीहरूलाई आन्दोलनमा उक्साएको, तोडफोड तथा आगजनीमार्फत राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पुर्याएको, सरकारी सम्पत्तिमा आक्रमण गराएको लगायतका आरोप लगाइएको छ।
उजुरी दिनेमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह छन्।यसअघि नेकपा एमाले निकट अखिल (अनेरास्ववियु) ले पनि सुदन र बालेनविरुद्ध छुट्टै उजुरी दिइसकेका छन् ।
सुदन गुरुङसहितका युवाहरूले भने आफूहरूलाई आन्दोलनमा दमन गरिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितको नाम समेटेर उजुरी दिएका थिए। दुई पक्षको उजुरीले प्रहरी अलमलमा परेको छ । यसर्थ उसले कारबाहीका लागि जाँचबुँझ आयोग समक्ष सिफारिस गरेकोमा आयोगले उल्टै फिर्ता पठाइसकेको छ ।
