काठमाडौं, असोज २८ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोडने दोहोर्‍याएका छन्।

जेनजी आन्दोलनपछि मंगलबार पहिलो पटक सार्वजनिकभएका उनले पार्टी केन्द्रीय कार्य समिति बैठकलाई लिखित सम्बोधन गर्दै हाल पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५ औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पारेका हुन् ।

सभापति देउवाले घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेस गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गरे । त्यस अवसरमा सभापति देउवाले आफूले यसअघि नै १५ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताए ।

उनले भने, ‘पार्टीको आन्तरिक जीवन आगामी १५ औ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाल उठेका छन् । म साथीहरुलाई के आग्रह गर्न चाहन्छ भने–घरमा सधैं एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रही रहँदैन । जहासम्म मेरो विषय छ । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा दुबिधा छैन ।’

सभापति देउवाले पार्टीको वैधानिक व्यवस्थाले पनि १५ औं महाधिवेशनबाट नेतृत्व रहन नदिने समेत बताए । सोही अवसरमा देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका हुन् ।