
प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू र जेनजी समूहका प्रतिनिधिहरूबीच राष्ट्रपति भवन शीतल निवासमा वार्ता सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहल र सहजीकरणमा आयोजित उक्त वार्तामा मन्त्री नियुक्ति लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अवस्थामा जेनजी समूहका नेताहरूलाई समेटेर सरकारमा सहभागिता गराउने तयारीस्वरूप वार्ता आयोजना गरिएको हो।
वार्तामा सहभागी जेनजी समूहका प्रतिनिधिहरूमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी रहेका छन्। मन्त्रिपरिषद् विस्तारमार्फत युवाहरूलाई समेट्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ।