काठमाडौं, असोज ३१ :

जेनजी आन्दोलनबाट चर्चामा आएका युवा अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले शनिबार (कात्तिक १ गते) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्ने तयारी गरेका छन्।

‘गरिखान देऊ’ अभियानमार्फत दल गठन प्रक्रिया अघि बढाइएको ढुंगानाले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले पार्टी गठन वार्ता समिति पनि बनाइएको जानकारी दिएका छन्।

प्रमुख एजेन्डाहरू:

१.प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था

२.विदेशमा रहेका नेपालीलाई मतदान अधिकार

३.भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निगरानी संयन्त्र

ढुंगानाले तत्काल निर्वाचनमा भने सहभागी नहुने बताएका छन्। उनका अनुसार, जबसम्म माथिका मागहरू पूरा हुँदैनन्, तबसम्म चुनावमा नजाने रणनीति अपनाइनेछ।

उनले भनेका छन्, ‘देश गम्भीर अवस्थामा छ, निकास खोज्दैछ। यस्तो बेलामा नयाँ राजनीतिक विकल्प दिनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।’ढुंगाना जेनजी आन्दोलनपछि युवा पुस्तामा चर्चामा आएका प्रमुख अनुहार हुन्। उनले आफूहरू शान्तिपूर्ण रूपमा आमूल परिवर्तनका लागि अघि बढ्ने स्पष्ट पारेका छन्।