
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद नछाड्ने स्पष्ट घोषणा गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा उनले आफ्नो काँधमा पार्टीको जिम्मेवारी रहेको उल्लेख गर्दै पद नछोड्ने अडान दोहोर्याए।
बैठकको समापन सत्रमा बोल्दै ओलीले पार्टीभित्रबाट आएको राजीनामाको मागलाई अस्वीकार गर्दै भने, ‘ मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ।’
उनले अध्यक्ष पदबारे निर्णय महाधिवेशनमा गरिने उल्लेख गरे। ‘मेरो राजीनामाबारे महाधिवेशनमा छलफल गरौंला, प्रतिनिधिहरुसँग फैसला मागौंला। पार्टीलाई तिक्ततामा नलगौँ, मित्रतासाथ जाऔं,’ उनले भने।
पार्टी जबरजस्ती होइन, विधिबाट चल्छ
ओलीले पार्टी सञ्चालन दबाब होइन, विधि र नीतिबाट हुने स्पष्ट पारे। ‘पार्टी सामूहिक ढंगले चल्छ, जबरजस्तीबाट चल्दैन। कहिलेकाहीं आफूले भनेजस्तो नहुन सक्छ,’ उनले भने, ‘धैर्य म पनि छु, म त अध्यक्ष हो।’
मलाई थुन्न खोजियो, तर कमजोरी भेटिएन
ओलीले सरकार आफूमाथि दमन गर्न खोजिरहेको आरोप पनि लगाए। उनले गृहमन्त्रीले आफूलाई कसरी पक्राउ गर्ने भनेर छलफल गरेको दाबी गर्दै भने, ‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर सल्लाह भयो, केही भेटिएन। सरकारले लगातार प्रयास गरिरहेको छ।’
निर्वाचन हुँदैन, हामी जान्न सक्छौं
ओलीले आगामी निर्वाचन तोकिएको समयमा नहुने दाबी पनि गरे। ‘अब बाँकी ४ महिना छ, चुनाव हुँदैन। नहुने चुनावमा हामी जान्न सक्छौं। उनीहरूको लक्ष्य चुनाव होइन,’ उनले भने, ‘मेरो पासपोर्ट रोक्ने, स्थान हद गर्ने ? मैले जलेको घर हेर्न जान नपाउने ?’
यो परिवर्तन क्रान्तिकारी होइन
अध्यक्ष ओलीले हालको राजनीतिक परिवर्तनलाई क्रान्तिकारी नभएको जनाए। ‘यो क्रान्तिकारी परिवर्तन होइन। यसमा दुविधा हुनुपर्दैन। पार्टी यसको पक्षमा छैन,’ उनले बताए।
विद्या भण्डारी प्रकरण : म अप्ठेरो बेलाको साथी हुँ
बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण माग्नेहरूप्रति पनि टिप्पणी गरे।‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन। म उहाँलाई राम्ररी चिन्छु। जब उहाँ असजिलो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ,’ उनले भने, ‘म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ। बरु उहाँले आएर पार्टीलाई सघाउनुपर्ने हो।’