काठमाडौं, असोज ३१ :

नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको उपाधि जितेको छ।

शुक्रबार ओमानमा भएको सुपर सिक्स चरणको अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलो पटक यो छनोट प्रतियोगिताको उपाधि जित्न सफल भएको हो।

नेपाल यसअघि नै विश्वकपमा स्थान सुरक्षित गरिसकेको थियो। यद्यपि समूह चरणदेखि सुपर सिक्ससम्म खेलेका सबै खेल जित्दै नेपालले अपराजित च्याम्पियनको उपाधि चुमेको हो।

योसँगै नेपालले तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा स्थान बनाउनुका साथै पहिलो पटक छनोट उपाधि जित्ने गौरव हासिल गरेको छ। नेपाल यसअघि सन् २०१४ र २०२४ को संस्करणमा टी–२० विश्वकप खेलेको थियो।

सुपर सिक्स चरणको समाप्तिमा नेपाल १० अङ्कसहित शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको ओमानले ८ अङ्क जोड्दा तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) ले ६ अङ्क प्राप्त गर्‍यो।

यी शीर्ष तीन टोली – नेपाल, ओमान र युएईले सन् २०२६ मा हुने टी–२० विश्वकपको यात्रा तय गरेका छन्। अन्य टोलीहरूमा कतार (४ अङ्क) चौथो, जापान (२ अङ्क) पाँचौँ र सामोआ (० अङ्क) अन्तिम स्थानमा रह्यो।

ओमानस्थित मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनाएको थियो।

नेपालका ओपनर आशिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए।

त्यसैगरी लोकेश बमले अविजित ३९ रन, कप्तान रोहितकुमार पौडेलले अविजित २१ रन, कुशल भुर्तेलले १७ रन बनाए।बलिङमा सामोआका चार खेलाडीले एक–एक विकेट लिए। लक्ष्य पछ्याउन उत्रिएको सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै सीमित रह्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका बलरमध्ये ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान १–१ विकेट लिए।