काठमाडौं, कात्तिक २ :

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले तिहारका अवसरमा देउसीभैलो खेल्दा सार्वजनिक आवागमनमा बाधा नपर्ने गरी मर्यादित रूपमा मात्र मनाउन निर्देशन दिएका छन्। सार्वजनिक स्थान तथा सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पूर्ण रूपमा रोक लगाइएको छ।

काठमाडौं जिल्ला प्रशासनले पनि सार्वजनिक आवागमन हुने स्थानहरूमा कुनै किसिमको अवरोध सिर्जना हुने कार्यक्रम नगर्न आग्रह गरेको छ। देउसीभैलो जस्ता सांस्कृतिक गतिविधिहरू राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले आतिसबाजी, पटाका, भुइँचम्पा तथा अन्य विस्फोटक वा आगलागीजन्य वस्तुहरूको खरिद, बिक्री, ढुवानी, भण्डारण तथा प्रयोग नगर्न नगराउन समेत अनुरोध गरेको छ। दीपावलीका अवसरमा मैनबत्ती र बिजुलीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।

यस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक सडक, पदमार्ग वा आवागमन हुने स्थलहरूमा देउसीभैलो खेल्न नपाइने स्पष्ट पारेको छ। साथै, यस्ता स्थानमा पूजा मण्डप वा दीपावली उत्सव स्थल पनि निर्माण गर्न पाइने छैन।

देउसीभैलो लगायतका कार्यक्रमहरू राति ९ बजेसम्म मात्र मर्यादित, अनुशासित र व्यवस्थित ढंगले सञ्चालन गर्न आग्रह गरिएको छ। ‘कोही कसैको गुनासो नआउने गरी मात्र देउसीभैलो खेल्न सकिनेछ,’ सूचनामा भनिएको छ।

यसैगरीलितपुर प्रशासनले पनि देउसीभैलो लगायतका चाडपर्व सम्बन्धी कार्यक्रमहरू मर्यादित, अनुशासित र व्यवस्थित तरिकाले सञ्चालन गर्न र राति ९ बजेसम्ममा सम्पन्न गर्न अनुरोध गरेको छ।

त्यसैगरी, चाडपर्वको नाममा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र नगराउन आग्रह गरिएको छ। प्रशासनले सूचनाविपरीत कुनै गैरकानुनी गतिविधि भएमा नजिकको प्रहरी वा सुरक्षा निकायमा जानकारी गराउन नागरिकलाई अनुरोध गरेको छ।