
प्रतीकात्मकर तस्बिर ।
दाङ र संखुवासभामा प्रहरीले जुवा खेलिरहेको अवस्थामा छापा मारेर वडाध्यक्ष, इन्जिनियर, पूर्व प्रहरी निरीक्षक लगायत कैयौं व्यक्तिलाई पक्राउ गरेको छ।
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित टी–थ्री होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा वडाध्यक्ष भरतमणि अर्यालसहित १३ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष अर्यालका साथै सोही नगरपालिका अन्तर्गतका इन्जिनियर प्रवीण रावत, पूर्व प्रहरीनिरीक्षक नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लंकबहादुर बुढा, सागर बुढा, कृष्णबहादुर घर्ती र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ३ लाख ४५ हजार ९१५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ।
त्यसैगरी गए राति घोराही–१५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री र सोहेलमान मनसुरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ६० हजार ६४० रुपैयाँ बरामद गरिएको छ।
संखुवासभामा ९ जना पक्राउ
यसैबीच, संखुवासभाको खाँदबारी नगरपालिका–१ स्थित बसपार्क नजिकै रहेको खुसुमा होटलमा जुवा खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सोमबार बिहान होटलमा छापा मारेको हो।
जितबहादुर राईले सञ्चालन गर्दै आएको उक्त होटलमा कौडा र तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरूसँग प्रहरीले १६ वटा कौडा, ४ गड्डी तास र १ लाख ७२ हजार ९३५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
प्रहरी निरीक्षक एवं प्रवक्ता रामकुमार लामिछानेका अनुसार पक्राउ परेकामाथि जुवा ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले तिहारलगायत चाडपर्वका समयमा जुवा खेल्नेलाई नियन्त्रणमा लिन निगरानी बढाएको जनाएको छ। विशेषगरी होटल, रेस्टुरेन्ट र गोप्य स्थानहरूमा जुवा तास खेल्नेहरूको गतिविधि बढेपछि प्रहरीले सक्रियता बढाएको हो।