काठमाडौं, कात्तिक ४ :

वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघर चोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहेका छन् । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साह जनक नभएको गुनासो गर्छन् ।

“अघिल्ला वर्षमा त दिनकै रु पाँच हजारसम्म व्यापार हुने गर्थ्यो । अहिले त मुस्किलले रु दुई हजार ५०० को व्यापार हुन पनि मुस्किल परिरहेको छ”, उनले भने, “पहिलाजस्तै दियो तथा पालाको व्यापार हुन भने छाडेको छ ।”

प्रजापतिले दसैँको टीकापछि छठ सम्मको अवधिमा माटाका विभिन्न थरिका सरसामान बिक्री गर्दै आइरहेको बताए । सडकमा माटोबाट बनाइएका दियो, घैला, नदिया, खपरी, ढकनालगायत माटाका सरसामान बेचबिखन गर्दै आइरहेका छन् ।  त्यस्तै वीरगञ्जको घण्टाघरसँगै रहेको बिपी उद्यानको फुटपाथमा माटाका भाँडा बेच्दै आइरहेका बिर्जु पडित प्रजापतिले पनि यस वर्ष दीपावलीमा प्रयोग हुने पाला तथा दियोको व्यापारमा कमी आएको गुनासो गरे ।

“एक दशकदेखि माटाका विभिन्न भाँडाकुँडा बेचबिखन गर्दै आइरहेको छु”, उनले भने, “अहिलेका मान्छेहरू झलर तथा झिलीमिली बत्ती किन्ने भएकाले पनि माटाका भाँडाकुँडामा खासै ध्यान दिँदैनन् ।” वीरगञ्ज १२ मुर्लीका चन्द्र हजारा ठाकुर तिहारमा आवश्यक पर्ने विभिन्न माटाका दियो तथा अन्य सरसामान किन्ने गरेको बताए । “दीपावली र छठमा माटाका भाँडाकुँडा बर्षौंदेखि किन्दै आइरहेका छौँ”, उनले भने, “पछिल्लो समय मान्छे आधुनिक भएसँगै माटाका दियो, पाला लगायत सामान किन्न छाडेको देखिन्छ ।”

व्यापारीका अनुसार साना खालका दियो १०० थानको रु एक सय ५० पर्ने गर्छ । त्यसैगरी सानो प्रकृतिको घैला ९० र ढकना पनि रु एक सयमा पाइने गर्छ ।