ललितपुर, कात्तिक ६ :

ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २:५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिए ।

खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए । ‘विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गरेपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान-१, नगद र मोबाइल फोन पनि बरामद भएको छ ।’विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको उनले बताए ।