काठमाण्डौं, असोज ६ :

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी हुनुभएको छ ।

स्थानीय समय अनुसार शनिबार दिउँसो फोसिल फ्युलमुक्त संसदीय संजालको कार्यक्रममा उहा सहभागी हुनुभएको छ । 

प्रधानमन्त्री ओली आजै दिउँसो स्थानीय समयअनुसार ३ :१५ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ ।

यस्तै स्थानीय समयअनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजना हुने संसदीय मञ्चको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

शनिबार दिउँसो संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नुहुनेछ । आजै साँझ राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गर्नुभएको छ ।

क्यानाडामा रहनुभएका परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयअनुसार शुक्रबार राति ९ :४५ बजे न्युयोर्क पुग्नुभएको थियो ।